युएईमा जारि आईपीएल २०२० अन्तर्गत डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्स प्लेअफ पुग्ने पहिलो टिम बन्न सफल भएको छ। लिग अन्तर्गत ४८ औं खेलमा बैंगलोरलाई ५ विकेटले पराजित गर्दै मुम्बईले प्ले-अफमा स्थान सुरक्षित गरेको हो। अबुधाबी स्थित शेख जायद स्टेडियममा सम्पन्न खेलमा बैंगलोरले दिएको १६५ रनको लक्ष्य १९.१ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको हो।
मुम्बईको लागी सुर्यकुमार यादबले आईपीएल करियरमा व्यक्तिगत उच्च रन बनाउने क्रममा अविजित ७९ रन बनाए। यस क्रममा उनले ४३ बलमा १० चौका र ३ छक्का प्रहार गरे। इशान किशनले २५, क्विन्टन डीकले १८, हार्दिक पान्ड्याले १७, क्रुनाल पान्ड्याले १० तथा काइरन पोलार्डले अविजित ४ रन बनाए।
पहिलो विकेटको लागि ओपनर क्विन्टन डीकक र इशान किशनले ३७ रनको साझेदारी गरेपछि छैठौं ओभरमा मोहम्मद सिराजले डीककलाई क्याच आउट गराए। त्यसपछि क्रिजमा आएका यादवले एक किनार सम्हालेता पनि मुम्बईले नियमित अन्तरालमा विकेट गुमायो। आठौँ ओभरमा किशन, ११ औं ओभरमा सौरभ तिवारी तथा १४ औं ओभरमा क्रुनाल पान्ड्या आउट भए।
पाँचौ विकेटको लागि यादवले हार्दिक पान्ड्यासंग ३० बलमा ५१ रनको साझेदारी गर्दै टिमलाई जित नजिक पुर्याए। १९ औं ओभरमा पान्ड्यालाई क्रिस मोरिसले क्याच आउट गराए। त्यसपछि २० औं ओभरको पहिलो बलमा यादवले सिराजलाई चौका हिर्काएर टिमलाई जित दिलाए।
बैंगलोरको बलिंगमा युजभेन्द्र चहल ( ४-०-३७-२ ) र मोहम्मद सिराज ( ३.१-०-२८-२ ) ले समान २ विकेट लिए भने क्रिस मोरिस ( ४-०-३६-१ ) ले १ विकेट लिए।
बैंगलोरको ब्याटिंग
यस अघि टस हारेर ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १६४ रन बनाएको थियो।
बैंगलोरको लागि ओपनर देभदत्त पडीक्कले सिजनमा चौथो अर्धशतक बनाउने क्रममा सर्वाधिक ७४ रन बनाए जुन क्रममा ४५ बलमा १२ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर जोश फिलिपेले ३३, एबि डी भिल्लीयर्सले १५, गुरकिरात सिंहले अविजित १४, वासिंगटन सुन्दरले अविजित १० तथा बिराट कोहलीले ९ रन बनाए।
पहिलो विकेटको लागि पडीक्कलले जोश फिलिपेसंग ७१ रनको ओपनिंग साझेदारी गरे। आठौँ ओभरमा फिलिपेलाई राहुल चाहरले स्टम्प आउट गराए। त्यसपछि १२ औं ओभरमा कप्तान बिराट कोहलीलाई बुम्राहले क्याच आउट गराए। पडीक्कलले त्यसपछि तेश्रो विकेटको लागि डी भिल्लीयर्ससंग ३६ रनको साझेदारी गरे। १६ औं ओभरमा डी भिल्लीयर्सआई काइरन पोलार्डले क्याच आउट गराए। सोहि ओभरमा पडीक्कललाई बुम्राहले ट्रेन्ट बोल्टबाट क्याच आउट गराए। लगत्तै ओभरमा क्रिस मोरिसलाई बोल्टले क्याच आउट गराए। सातौँ विकेटको लागि गुरकिरत सिंहले वासिंगटन सुन्दरसंग १६ बलमा २६ रनको अविजित साझेदारी गरे।
१३१/२ को अवस्थाबाट बीचमा लगातार विकेट गुम्दा बैंगलोरले १६४ रन मात्र बनाउन सक्यो।
मुम्बईको बलिंगमा जस्प्रित बुम्राहले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा १ मेडन ओभर गर्दै मात्र १४ रन खर्चिए। ट्रेन्ट बोल्ट ( ४-०-४०-१ ), राहुल चाहर ( ४-०-४३-१ ) , काइरन पोलार्ड ( १-०-५-१ ) ले समान १ विकेट लिए।
अंकतालिका , प्लेअफ र आगामी खेल
जितपछि मुम्बई १२ खेलमा ८ जित र ४ हारको साथ १६ अंक बटुल्दै शिर्ष स्थानमा कायमै रहेको छ। यो संगै लिगको प्लेअफ पुग्ने मुम्बई पहिलो टिम बनेको छ। चेन्नाई सुपर किंग्स प्लेअफ रेसबाट बाहिरिएको छ भने अन्य टिमको प्लेअफ सम्भावना अझै जिवितै रहेको छ।
हारपछि बैंगलोर १२ खेलमा ७ जित र ५ हार पछि १४ अंक सहित दोश्रो स्थानमा यथावत रहेको छ। समान अंक रहे पनि दिल्ली नेट रन रेटमा पछि रहँदै तेश्रो स्थानमा रहेको छ। बैंगलोरले प्ले अफ पुग्न बाँकी २ खेल मध्ये १ खेलमा जित दर्ता गर्नुपर्नेछ।
बैंगलोरले आगामी खेल शनिवार हैदरावाद बिरुद्ध तथा मुम्बईले शनिवारनै दिल्ली बिरुद्ध खेल्ने तालिका रहेको छ। लिग अन्तर्गत बिहिबार चेन्नाई सुपर किंग्स र कोलकाता नाइट राइडर्सले प्रतिस्पर्धा गर्नेछन्।