पर्वत,२१
पछिल्लो केहि बर्ष यता पर्वत एकाएक चर्चामा आउन थालेको छ । नाम सुन्दा ठुलो पहाड जस्तो लाग्ने पर्वत साच्चिकै अवलोकन नै गर्न आउने हो भने एउटा सौन्दर्य साथै रमाउनको लागी पोखरा पछिको गण्डकी प्रदेशकै दोश्रो ठाउँ यतिबेला पर्वत बनेको छ ।
पर्वतमा अग्ला र लामा झोलुङ्गे पुल, विश्वकै दोश्रो बन्जी जम्प साथै जिपलाइन र यस्तै खालका पर्यटकलाई आकर्षण गर्ने खालका थुप्रै संचनाहरुको बिकास भएको छ । पर्यटकीय नगरी पोखरासँग नजिक भएर पनि पर्यटकीय गतिविधि शून्यजस्तै बनेको पर्वतमा पुलका र निर्माण सम्पन्न भएर संचालनमा आएका साहाशिक खेलहरुका कारण आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढेको छ । अग्ला खोँचका झोलुङ्गे पुल र निर्माण भएका संरचनाको बारे अध्ययन अवलोकनको गन्तव्य समेत पर्वत बनेको छ । बिभिन्न पेसा ब्यवसायमा लागेका मानिसहरुको रोजाई र बिदाको समय व्यबस्थापन गर्ने केन्द्र अहिले पर्वत बनेको छ । पर्वतमा निर्माण भएका बिभिन्न खालका संरचनाहरु
कुस्मा-ज्ञादी झोलुङ्गे पुल
दुई करोड रुपैँयाँको लागतमा बनेको कुस्मा-ज्ञादी झोलुङ्गे पुलको लम्बाइ ३४४ मिटर र उचाइ १३५ मिटर छ । पुलले कुस्मामा पर्यटकीय गतिविधि बढाएको छ । यो पुलले स्थानीय तथा बाह्य पर्यटकलाई आकर्षित गरेको छ । २०६४ सालमा मोदीखोलाको खोँचमा यो पुल निर्माण भएसँगै अग्लो स्थानमा पुल बनाउने कार्य सुरु भएको हो । यो पर्वत र देशको अग्लो र लामो झोलुङ्गे पुल हो भनेर त्यो बेला दावी समेत गरीएको थियो ।
कुस्मा-बलेवा झोलुङ्गे पुल
यो पुलको लम्बाइ ३४७ मिटर छ । पुल मोटर साइकलसमेत चलाउन सकिने गरी निर्माण गरिएको छ । नदी सतहदेखि १५४ मिटरको उचाइमा पुल छ । पुल निर्माण गर्न दुई करोड रुपियाँ लागेको छ । कुस्मा-ज्ञादी पुल निर्माण पछि कालीगण्डकीको खोँचमा कुस्माको बडागाउँदेखि बागलुङको बलेवा (कैया)सम्म जोड्ने नेपालकै अग्लो र लामो पुल निर्माण सम्पन्न भएको हो ।
कुस्मा-मुडिकुवा फलेवास झोलुङ्गे पुल
पर्वतका चार स्थानीय तह जोड्ने गरी कुस्मा-मुडिकुवा (फलेवास) झोलुङ्गे पुल निर्माण भएको छ । यो पुल ३५९ मिटर लामो र १५७ मिटर उचाइको छ । दक्षिणी क्षेत्रका बासिन्दालाई सदरमुकाम आउन यो पुलले एक घण्टा छिटो बनाइदिएको छ । एक करोड ७६ लाख रुपियाँमा पुल बनेको हो । पर्वतका फलेवास नगरपालिका, माहाशिला,पैँयु र बिहादी गाउँपालिकाका बासिन्दालाई सदरमुकाम कुश्मा बजार सम्म आउन सहज बनाएको छ ।
कुस्मा-ज्ञादी अधिकारी फाँट झोलुङ्गे पुल
सदरमुकाम कुस्मा बजारलाई ज्ञादी जोड्ने गरी कुस्मा-ज्ञादी अधिकारी फाँट झोलुङ्गे पुल बनेको छ । यो पुल पनि ३५० मिटर लामो र १५० मिटर उचाइको छ । कटुवा चौपारी, पिपलटारी,ठुलीपोखरी लगायतका १० भन्दा बढि वडालाई यो पुलले प्रत्यक्ष फाइदा पुर्याएको छ । यो पुलको सम्पन्न लागत दुई करोड २० लाख रुपियाँ हो ।
पाङ-बागलुङ झोलुङ्गे पुल
कुस्मा नगरपालिका-१, पाङ अदुवाबारीदेखि बागलुङ नगरपालिका-१, रामरेखा जोड्ने गरी पाङ-बागलुङ झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । यो पुल ५६७ मिटर लामो र १६० मिटर अग्लो छ । पुल निर्माणका लागि करिब १० करोड रुपियाँ लागेको छ । पर्वतमा बनेका पुलहरु मध्ये अहिलेसम्मकै सबभन्दा लामो पाङ देखि बागलुङ जोड्ने पुल हो ।
फलेवास- कुर्घा पुल
पर्वतकै दक्षिणी क्षेत्र जोड्ने गरी फलेवासदेखि कुर्घाको खोँचमा निर्माण भएको पुल पनि अग्लो पुलमा पर्छ । लमाय खोलाको खोँचमा रहेको यो पुलको लम्बाइ २८६ मिटर छ भने खोलादेखि पुलसम्मको उचाइ ११६ मिटर छ । यसले पनि फलेवास वजार सम्म स्थानिय स्तरमा उत्पादन भएका कृषि उपजहरु बजारीकरण गर्न सहयोग पुर्र्याएको छ ।
केबलकार मोडेलको यान्त्रिक पुल
निजी क्षेत्रको लगानीमा केबलकार मोडेलको यान्त्रिक पुल पनि यहाँ निर्माण भएको छ । यो पुलले कुस्मा-बलेवा जोड्छ । यान्त्रिक पुलको व्यावसायिक सञ्चालनले कुस्मालाई छिमेकी बागलुङका २ भन्दा धेरै स्थानिय तहहरु जोड्छ । दुई घण्टाको पैदल यात्रालाई केबलकार मोडेलको यो यान्त्रिक पुलले करिब पाँच मिनेटमै झारिदिएको छ । दैनिक सयौँ यात्रु यस पुलबाट ओहोरदोहोर गर्छन् । आन्तरिक तथा बाह्य पर्यटक दुवैका लागि यो आकर्षणको केन्द्र पनि बनेको छ ।
बन्जी पुल
साहसिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले निजी क्षेत्रको लगानीमा बन्जी जम्प सञ्चालन गरिएको छ । पछिल्लो समय आन्तारीक देखि बाह्य पर्यटकहरु पनि यसको अवलोकन र साहासिक मज्जा लिनको लागि आउने गरेको द क्लिफका अध्यक्ष राजु कार्किको भनाई छ । कार्कि भन्छन्,‘ बन्जी निर्माण भए पछि धेरै आन्तारीक र बाह्य पर्यटकहरु पनि आउनुभएको छ , हामि बन्जी र स्विङ मात्रै होइन घुम्न आउने पर्यटकको लागि स्काई साइकलिङ, स्काइ चियर्स, गुलेली सैलीको पिङ लगायत थुपै खेलहरु निर्माण गरेका छौ धेरैले मन पराउनु पनि भएको छ । ’
पर्वतको सदरमुकाम कुस्मा बजारदेखि छिमेकी जिल्ला बागलुङको नारायणस्थान जोड्ने गरी कालीगण्डकीमाथि पुल निर्माण गरेर बन्जी जम्प सञ्चालन गरिएको हो । कुस्मा-बलेवा जोड्ने गरी कालीगण्डकी नदीको खोँचमा पुल निर्माण गरिएको छ । यही पुलमा बन्जी जम्प सञ्चालन गरिएको छ । पुलको लम्बाइ ५३५ मिटर र २२५ मिटर उचाइ रहेको छ । यसमा भएका सम्पुणर् संचनाको लागत करिव २८ करोड पुगेको अध्यक्ष कार्कीले बताउछन् ।
गुलेली शैलीको पिङ
यो पिङ पहिल्यै चर्चामा आइसकेको छ । यो पिङमा चर्चित राजनीतिज्ञ, उद्यमी, कलाकारलगायत पुगिसकेका छन् । फेसबुक, टिकटक, इन्टाग्राम, ट्विटरलगायत सामाजिक सञ्जालमा पनि यो पिङको चर्चा छ । बन्जीका लागि निर्माण गरिएको पुलको उचाइ २२८ मिटरको छ । यो पिङ पुलभन्दा पनि अझमाथि २४८ मिटर उचाइमा छ । जमिनबाट १२ मिटर अग्लो पिङ मुलुककै नमुना पिङ भएको बताइन्छ । कम्पनीका अनुसार पिङ गुलेली शैलीमा निर्माण गरिएको छ । अरू पिङमा अरूले हल्लाइदिने वा आफैँ मच्चाएर खेल्नुपर्ने हुन्छ, तर यसमा खेल्ने मान्छे पिङमा बसेपछि मेसिनले तानेर छाडिदिन्छ । पिङ मच्चिएर खोँचमाथि पुग्दा ‘थ्रिल’ महसुस हुन्छ । रकक्लाइम्बिङ, क्यानोनिङलगायत साहसिक खेलमा प्रयोग गरिने अन्तर्राष्ट्रिय गुणस्तरको डोरीबाट दक्ष प्राविधिकले डिजाइन गरी पिङ निर्माण गरिएको सञ्चालक कार्कीको दाबी छ । यो पिङ खेल्नका लागि प्रतिव्यक्ति २५० रुपैयाँ लाग्ने बताइएको छ ।
स्काई साइक्लिङ
स्काई साइक्लिङ केही महिनाभित्रै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । यो स्काई साइक्लिङ पनि कालिगण्डकी खोँचको २२८ मिटर उचाइमा हुने छ । विश्वकै अग्लो उचाइमा रहेको साइक्लिङको लम्बाइ तीन सय मिटर छ । कार्कीले भने, ‘दुईतर्फी तीन सय मिटर लम्बाइ रहेको रुटमा एकपटकमा दुईजनाले साइक्लिङ गर्न सक्छन ।’
आँखैअगाडि सेता हिमाल र हरिया डाँडाकाँडा हेर्दै गहिरो खोँचमाथि साइक्लिङ गर्नुको मज्जा बेग्लै हुनेछ । स्काई साइक्लिङ पनि अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बनाइएको कम्पनीको दाबी छ । साइक्लिङ गर्न आवश्यक साइकल र सुरक्षा उपकरण कम्पनीले आफैँ दिनेछ । स्काई साइक्लिङमा साइकल र यात्री दुवैलाई सुरक्षा डोरीले अड्काइएको हुन्छ । लिकमा रेल गुडेझैँ फिक्स ह्यान्डल भएको साइकललाई रोपमा कुदाइने उनले जानकारी दिए । स्काई साइक्लिङ पनि नेपालको साहसिक पर्यटनको बिल्कुल नयाँ प्रडक्ट भएको कम्पनीको दावी छ ।
जिपलाइन
साहसिक पर्यटनमा छलाङ मारिरहेको सदरमुकाम कुश्मामा करिव ३ महिना अगाडी जिपलाइन सञ्चालनमा आएको छ । स्थानीय युवा व्यवसायीको लगानीमा १ हजार ४ सय ८० मिटर लामो जिपलाइन सहित थुप्रै साहसिक पर्यटनका खेल एकसाथ सञ्चालनमा आएका छन् । हार्नेस जिपलाइनले साहसिक पर्यटनमा रमाउन चाहनेका लागि लक्षित गरेर मुलुककै लामो जिपलाइन सञ्चालनमा ल्याएको हो । कुश्मा नगरपालिका-४ चाक्लेको डिलबाट सुरु हुने जिपलाइन कालीगण्डकी नदी किनारमा पुगेर टुंगिन्छ । कम्पनीका निर्देशक राजकुमार बस्नेतका अनुसार कालीगण्डकीको सतहदेखि झन्डै २ सय ५० मिटरको उचाइमा रहेको जिपलाइन बाट भीरको कहालीलाग्दो दृश्यावलोकनको मज्जा लिन सकिन्छ । एक दर्जन युवा व्यवसायीको लगानीमा जिपलाइन, ज्वाइन्ट स्विङलगायत साहसिक खेल सञ्चालनमा ल्याइएको हो । जिप लाइनका लागि ३५ सय रुपैयाँ शुल्क तोकिएको छ । कालीगण्डकी नदीको सतहदेखि झन्डै दुई सय ५० मिटरको उचाइबाट सुरु हुने जिप लाइनको सुरुवाती गति प्रतिघण्टा एक सय ३० किलोमिटरको गतिमा बगेर गन्तव्य नजिकिँदै जाँदा बिस्तारै घट्दै जाने गर्दछ । १४ सय ८० मिटरको दुरी पार गरिसक्दा कालीगण्डकी नदी किनारमा कम्पनीले नै निर्माण गरेको रिसोर्टमा पुगेर जिप लाइनको ल्यान्डिङ हुन्छ ।
सिसैसिसाको स्काई ब्रिज
नेपालमै पहिलो पटक सिसैसिसाको पुल स्काई ब्रिज सञ्चालनमा आएको छ । पर्वतको कुश्मा बजारमा कालीगण्डकी नदीको खोँचमा बनेको स्काई ब्रिज नेपालकै पलिलो र आकर्षकको रुपमा पर्ने लगानीकर्ताहरुको दाबि छ ।
कालीगण्डकी नदीको सतहदेखि झन्डै दुई सय ५० मिटरको उचाइमा रहेको पुलबाट नदी र भिरको दृश्य छर्लङ देखिन्छ । तल हेरेर डर र आनन्द दुवै लिन सक्ने गरी पुल बनेको छ । हार्नेस जिपलाइन प्रालि कुश्माले टिकटक पारखीहरूका लागि लक्षित गरेर देशमै पहिलो पटक स्काई ब्रिज निर्माण गरेको कम्पनीका निर्देशक राजकुमार बस्नेतले जानकारी दिए ।
एकै पटकमा एक सय जनासम्मले स्काई ब्रिजको मजा लिन सक्ने बस्नेतले जानकारी दिए । पुल ३५ फिट लामो र ११ फिट चौडा छ । ‘हामीले सिसाको पुल नेपालका लागि पहिलो पुल बनाएका हौँ’, उनले भने, ‘अहिले युवाहरूको आकर्षण टिकटकमा भएका कारण यसले युवायुवतीलाई आकर्षित गर्ने विश्वास लिएका छौँ ।’ संचालन पश्चात टिकटक बनाउने र दृश्यवलोकनका लागि यहाँ आउनेहरुको घुइँचो छ ।
अहिले निर्माण भएको छोटो स्काई ब्रिजको सफलता र प्राविधिक पक्ष हेरेर भविष्यमा विश्वकै लामो सिसाको पुल बनाउने योजना रहेको कम्पनीका निर्देशक बस्नेतले बताए । हार्नेस प्रालिले कुश्मा बजारमा नै पहिलो पटक ज्वाइन्ट स्विङ पनि सञ्चालनमा ल्याएको छ
शाहसिक खेल क्यानोनिङ
पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङस्थित महभिर झरनामा साहसिक खेल क्यानोनिङ व्यावसायिक रूपमा सुरु भएको छ । साहसिक पर्यटनमा रुची राख्ने स्वदेशी एवम् विदेशीका लागि अग्ला झरनाबाट झर्ने क्यानोनिङ (छाँगावरोहण) खेल धौलागिरि क्षेत्रमै पहिलोपटक सञ्चालन गरिएको हो ।
११० मिटर अग्लो झरनामा विगत एक दशकको प्रयासपछि गत सातादेखि व्यावसायिक रूपमा क्यानोनिङ सुरु भएको हो । दुर्लुङ क्यानोनिङ एण्ड क्याभिङ प्रालिले झण्ढै दश लाख रुपैयाँको लागतमा यो खेल सुरु गरेको हो । घना जंगलभित्र रहेको ठूलो छहरामा क्यानोनिङ गर्न दशकअघि नै सम्भाव्यता अध्ययन गरिए पनि अहिले आएर पूरा भएको कम्पनीका अध्यक्ष उद्धिमबहादुर गुरुङले बताए ।
हिमाल आरोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, बञ्जिजम्प जस्तै साहसिक पर्यटकीय गतिविधिका रूपमा हिमाली र पहाडी क्षेत्रमा रहेका अग्ला पहाडका झरनामा क्यानोनिङ खेलको विकास गर्न सकिने सम्भावनालाई लक्षित गर्दै साविकको धौलागिरिमै पहिलोपटक क्यानोनिङ सञ्चालन गरिएको उनको भनाइ छ । पर्वत सदरमुकाम कुश्माबजारबाट झण्डै ७ किलोमिटरको दूरीमा अवस्थित उक्त स्थानमा गुरुङ बस्तीको बाहुल्यता रहेको छ । स्थानीय चनौटे गाउँमा होमस्टे विस्तार र महभिर खोलामा क्यानोनिङ एकैपटक सुरु गरिएको गुरुङले जानकारी दिए ।
पर्वत अब शाहसिक पर्यटनको गतिलो गन्तव्य ः नगर प्रमुख जोशी
पर्वत जिल्ला आकारको हिसाबले नेपालको चौथो सानो जिल्ला भएपनि पर्यटकीय दृष्टिकोणले नेपालकै उत्कृष्ठ गन्तव्यका रुपमा अघि बढिरहेको कुश्मा नगर पालिकाका प्रमुख रामचन्द्र जोशीको भनाई छ । अहिले उत्कृष्ठ शाहसिक पर्यटकीय गन्तव्यहरु विशेष गरी कुश्मा नगरपालिका भित्र नै रहेका छन् । नेपालकै अग्ला झोलुङगे पुल, यान्त्रिक पुल, विश्वकै दोश्रो अग्लो बञ्जि जम्प, स्काई साइक्लिङ, जीप लाइन, सिस ब्रीज र क्यानोनिङ कुश्मा नगरपालिका भित्र परेका छन् । स्थानीय तहहरुको समन्वयकै कारण यी सवै सम्भव भएको जोशीको भनाइ छ । ‘पर्वत जिल्लाको कुश्मा नगरपालिका क्षेत्रलाई पर्यटन हबका रुपमा विकास गर्न हामी नीजि क्षेत्रलाई विशेष नीतिगत व्यवस्था नै गरेर प्रोत्साहन दिलाउने योजनामा रहेका छौँ ।’
धार्मिक पर्यटक
प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ, मोदीवेणी, गलेश्वर, बागलुङ कालिका, पञ्चकोट लगायतका स्थानमा आउने धार्मिक पर्यटकसमेत पुल अवलोकन गर्न कुस्मा सम्म पुग्ने गरेका छन् । पछिल्लो समय एकपछि अर्को गर्दै थपिएका साहासिक खेल होस वा अग्ला र लामा झोलुङ्गे पुलहरु यसले पर्वतको सान बढाएको छ । मानिसहरु घुम्नको लागि पहिलो रोजाई पर्वत बनेको छ । यी संरचनाले धार्मिक पर्यटकलाई समेत कुस्मामा बस्ने वातावरण बनाएको छ । धार्मिक पर्यटकको आगमनसँगै कुस्माका विभिन्न सङ्घसंस्थाले धर्मशाला समेत निर्माण गरेका छन् । पर्यटकको रोजाई कुश्मा बने सगैँ यहाँका मठ,मन्दिर, पाठिपौवा र चौताराहरु लाई रङ्गरोगन गर्ने सजाउने र आकर्षक बनाउन पनि थालिएको छ ।
व्यवसाय बढ्यो
पर्वतमा बनेका यि बिभिन्न साहासिक संरचनाका कारण कुश्मा बजारको व्यवसायमा पनि बृद्धि भएको छ । उद्योग बाणिज्य संघ पर्वतका अध्यक्ष गोपि अधिकारीका अनुुसार कोरोनाका कारण सुस्ताएको व्यवसाय पर्वतमा बनेका साहासिक संरचनाको अवलोकन गर्न आउनेहरुको संख्यामा बृद्धिहुदा होटल व्यवसाय संचालन गरेकाहरु पनि अहिले व्यवसायमा निकै उत्साहित देखिएका छन् । जिल्ला भन्दा बाहिरबाट हजारौँको संख्यामा पर्यटक जिल्लामा आउने गरेका अधिकारीको भनाई छ ।उनी भन्छन्, ‘केहि समय अगाडी कोरोनाले थला पारेको पर्वतको ब्यवसायमा यहाँ बनेका साहसिक संरचनाका कारण पर्यटक भित्रिदा व्यवसायमा ठुलो राहतको काम गरेको छ ।’ कृषकले उत्पादन गरेका कृषि उपजले बजार पाएको छ । तरकारी, फलफूल तथा दुग्धजन्य उत्पादनको बजारीकरणले स्थानीयवासीको आम्दानी समेत बढेर गएको छ । आर्थिक पाटोका साथै गाउँ र सहरलाई नजिक बनाउन पनि यी पुल बन्जी,जिपलाइन र अन्य संरचनाले ठूलो योगदान पुर्याएका छन् ।
अध्ययन र मनोरञ्जनका पुल
नेपालकै अग्ला, लामा, केबुलकार र बन्जी मोडेलका पुल निर्माण भएका कारण कुस्मा बजार आन्तरिक पर्यटकको पहिलो रोजाइमा पर्न थालेको छ । पर्यटकका लागी पोखरा पछिको दोश्रो रोजाईमा पर्न सफल भएको ठाउँ हो पर्वत । यहाँ बिभिन्न संकायमा अध्ययन गर्ने ,पेशा व्यवसायमा आवद्ध भएकाहरु अध्ययन अवलोकन गनका लागी पहिलो प्राथमिकता दिएर पर्वत पुग्ने गरेका छन् ।
पर्यटकीय सहर पोखरा नजिक हुनुका साथै मुस्ताङ जाने-आउने बाटो परेका कारण पनि अध्ययन, अवलोकन र मनोरञ्जनका लागि अधिकांश पर्यटक कुस्मा रोकिने गरेका छन् । यतिखेर दैनिक सयभन्दा बढी मोटरसाइकलमा र ५० भन्दा बढी साना सवारीसाधनमा पुल अवलोकन गर्न आउने गरेको स्थानीय व्यवसायी सरोज शर्मा बताउछन् । उनका अनुसार सनिवार र बिदाको दिनमा यहाँ आउनले पर्यटकहरु निकै बढी छन् । विद्यार्थीको अवलोकन भ्रमणका ,आमा समुह लगायत अन्य क्लव ,संघसस्थाका मानिसहरु यहाँ अध्ययनको लागि आउने गरेका छन् ।