संगिता लामिछाने/पर्वत
पर्वतमा बिहिवार गरिएको अनुुुगमनमा परिकार बनाउने भान्सामा नै फोहोर रहेको पाइएको छ । पर्वतको कुश्मा बजारमा रहेका होटल,रेष्टुरेन्ट तथा मिठाइ पसलहरुमा अनुगमन गर्दा भान्सा नै फोहोर भएको र परिकार बनाउने बिभिन्न उपकरणहरु नै फोहोर देखिएको हो । पर्यटन तथा उद्योग कार्यालय पर्वतको आयोजनामा गरिएको खाद्य बस्तुको अनुगमन गर्दा राजमार्ग छेउँछाउ तथा बढी व्यस्त हुने शिवालय चोकमा रहेका होटल,रेष्टुरेन्ट तथा मिठाइ पसलहरुमा गुणस्तरहिन परिकार र धेरै फोहोर भएको अनुगमन टोलीले बताएको छ ।
अनुगमनका क्रममा अधिकांस होटल तथा रेष्टुरेनटका भान्सामा सरसफाईको कमी देखिएको छ । भान्सामा फोहोर सहित खानेकुरा नछोपी राखेको भेटीएको पर्यटन तथा उद्योग कार्यालय पर्वतका प्रमुख मुना अधिकारीले बताउँनुभयो । अधिकारीले भन्नुभयो, ‘यस पटक सजग गराएका छौ आगमी दिनमा पनि यस्तो पाइएमा कानुन अनुसार कारबाही गर्ने छौ ।’
यस्तै सडकछेउका होटल-रेष्टुरेन्टमा खानेकुरा खुल्ला र कतैकतै झुलले छोपेर राखिएको थियो । त्यस्ता होटललाई अनिवार्य रुपले सिसाको फ्रेमभित्र खाद्यपदार्थ राख्न निर्देशन दिइएको अधिकारीले बताउनुभयो । मिठाइ पसरलहरुमा भने खाद्य पदार्थमा रंगको प्रयोग बढी गरेको पाइएकाले जथाभावी नगर्न र रंग प्रयोग गरेपछि खाद्य पदार्थलाई पकाउन, तार्न निषेध गरिएको पनि अधिकारीले जानकारी दिनुभयो ।
पर्यटन तथा उद्योग कार्यालय पर्वत, जिल्ला प्रशासन कार्यालय पर्वत,खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङ,पोखरा उद्योग वाणिज्य संघ पर्वत, प्रहरी,पत्रकार लगायतको टोलीले अनुगमन गरेको थियो ।
साथै होटल,रेष्टुरेन्ट तथा मिठाई पसल संचालन गर्दा अपनाउँनुपर्ने सावधानी,अखाद्य पदार्थ मिसावट गर्दा उपभोक्तामा हुने हानी, सरसफाई लगायत उपभोक्ता प्रतिको जिम्मेवारी र अखाद्य बस्तुको विक्री वितरणबाट उपभोक्ताको स्वास्थ्यमा परेको असर र त्यसको कारबाही तथा जरिवाना सम्बन्धमा संचालकहरुलाई मंसिर १६ गते विहान ६ बजे अभिमुखिकरण कार्यक्रम संचालन गर्न लागेको पर्यटन तथा उद्योग कार्यालय पर्वतका प्रमुख मुना अधिकारीले जानकारी दिनुभयो । कुश्मा बजारमा मात्र साना ठुला गरि करिब २ सय होटलहरु रहेका छन् ।