हाम्राेप्रयास । नेकपा स्थायी समितिका सदस्य हरिबोल गजुरेलले बामदेव गौतमलाई प्रधानमन्त्री बनाउन संविधान नै संशोधन गर्न खोज्नु माधव नेपालको गम्भीर गल्ती हो भनेका छन् । शुक्रबार बिहान एक अन्तर्वार्ताका क्रममा उनले सो कुरा बताए ।
उनले भने, ”माधव नेपालजस्तो नेकपा एमालेको महासचिव भैसकेको, नेपालको प्रधानमन्त्री नै भैसकेको व्यक्ति पनि राष्टिय सभाको सदस्यलाई पनि प्रधानमन्त्री बनाउन सकिने गरी एकजना व्यक्तिलाई प्रधानमन्त्री बनाउनकै लागि संविधान संशोधन गर्ने कार्यदलको प्रमुख भएर बस्नुभयो यसले सिंगो पार्टीको इज्जतलाई नै ड्यामेज गरेको छ ।’
उनको प्रश्न थियो, ‘यसरी कुनै एकजना व्यक्तिलाई प्रधानमन्त्री बनाउन संविधान नै संशोधन गर्न उहाँजस्तो व्यक्ति तयार हुने हो ? उहाँ यसरी विधि र प्रक्रियाको विपक्षमा उभिन मिल्छ ? यसले उहाँलाई र पार्टीलाई नै कति क्षति पुर्याएको छ थाहा पाउनुभएको छ ?’
नेता गजुरेलले यो घटनाले नेकपाको वर्तमान नेतृत्व आफ्नो स्वार्थ र पद प्राप्तिका लागि जे जस्तो काम पनि गर्न तयार हुन्छ भन्ने सन्देश जनतामा गएको बताए । उनले नेकपाको वर्तमान समस्या पनि विधि र नयाँ संविधान अनुसार चलाउन नसक्दा उत्पन्न भएको बताए ।
उनले प्रश्न गरे, ‘देशमा नयाँ संविधान आएको छ, नेकपा नयाँ गठन भएको छ तर ओलीले पूर्व एमालेजस्तो गरी चलाउन खोज्ने अनि प्रचण्डले पूर्व माओवादीजस्तो गरी चलाउन खोज्ने अनि कसरी हुन्छ पार्टी राम्रो ?’