सत्तारुढ दलभित्रको आन्तरिक किचलोका कारण संसदका गतिविधि ठप्प भएको भन्दै प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदको विशेष अधिवेशन बोलाउने तयारी सुरु गरेको छ ।
सरकारले अधिवेशन आह्वानको सिफारिस नगरे संसदको एक चौथाइको समर्थन जुटाएर अगाडि बढ्ने तयारी गरेको छ । कांग्रेसले कात्तिक २१ गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
कार्यसमिति बैठकअघि अहिले पदाधिकारी बैठक चलिरहेको छ । सोमबार सुरु भएको पदाधिकारी बैठकले सांसद सूर्यबहादुर केसीको निधनका कारण मंगलबार निरन्तरता पाउन सकेन ।
कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठकपछि संसद अधिवेशनका लागि प्रक्रिया सुरु गर्ने भएको छ । विशेष अधिवेशन बोलाउने कुरामा प्रायः सबै पदाधिकारीको एक मत रहेको स्रोतको दाबी छ ।
यसअघि, मन्त्रिपरिषदको सिफारिसका आधारमा राष्ट्रपति विद्या भण्डारीले सभामुख अग्नि सापकोटालाई पनि थाहा नदिई संसद बैठक अन्त्य गरेकी थिइन् । संसद बैठक अन्त्य गर्ने सरकारी निर्णयको कांग्रेसले विरोध गर्दै आएको छ ।
कांग्रेसले संसद अधिवेशन बोलाउनको लागि जनता समाजवादी पार्टीको सहयोग माग्ने तयारी गरेको छ । विशेष अधिवेशनका लागि संसदमा २५ प्रतिशत सांसदको हस्ताक्षर आवश्यक हुने भएकाले कांग्रेस एक्लैले विशेष अधिवेशन बोलाउन सक्ने अवस्था छैन ।
प्रतिनिधिसभामा नेपाली कांग्रेसका ६३ जना सांसद छन् । तीमध्ये विजयकुमार गच्छदार र मोहम्मद अफताभ आलम निलम्बनमा परेका छन् ।
यो अवस्थामा २५ प्रतिशत संख्या पुर्याउन कांग्रेसलाई थप ९ सांसदको सहयोग आवश्यक हुन्छ । त्यसका लागि कांग्रेसले जनता समाजवादी पार्टीसँग संवाद अघि बढाएके कांग्रेस स्रोतले जानकारी दिएको छ ।
संविधानको धारा ९३ को उपधारा ३ मा तोकिएअनुसार एक चौथाई सांसदहरुले चाहेको खण्डमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्नुपर्ने हुन्छ ।