बार्सिलोनामा मेस्सीको खराब अन्त्य हुन्छ – म्याराडोना

अर्जेन्टिनाका महान खेलाडी डिएगो म्याराडोना शुक्रबार ६० औं वर्षमा प्रवेश गरेका थिए । उनले आफ्नो जन्म दिनमा अर्जेन्टिनी फुटबल टोलीका कप्तान लिओनल मेस्सीले बार्सिलोना छाड्न चाहेको प्रसंगमा चर्चा गरेका छन् ।

मेस्सीले यो सिजन बार्सिलोना छाड्न चाहेका थिए । तर, क्लबसँग थप विवाद हुने देखिएपछि उनले आफ्नो निर्णय फिर्ता लिदै कम्तीमा यो सिजन त्यहि बस्ने निर्णय लिएका थिए ।

विश्व कप विजेता म्याराडोनाले पनि दुई सिजन क्याम्प नोउमा बिताएका थिए । पछि इटालियन टोली नेपोलीमा गएपछि म्याराडोनाको खेल जीवनले नयाँ उचाई लिएको थियो । बार्सिलोना छाड्नका लागि कति कठीन बनाइन्छ भन्ने विषयमा म्यारोडोना बोलेका छन् ।

‘मलाई थाहा छ यो सम्बन्ध खराब ढंगले अन्त्य हुनेछ । मलाई लाग्छ मेस्सीले छाड्नेछन् ,’ मेस्सीले अर्जेन्टिनी सञ्चारमाध्यमलाई भने, ‘मलाई पनि त्यस्तै भएको थियो । बार्सिलोना सहज क्लब होइन । उनले वर्षौं त्यहाँ बिताए । तर जेको उनी हकदार थिए, त्यो व्यवहार गरिएको छैन ।’

मेस्सीले क्लबका लागि सब थोक दिएको जनाउँदै म्याराडोनाले भने, ‘क्लबलाई उनले माथिल्लो स्तरमा पुर्याए । एक दिन उनले क्लब परिवर्तन गर्न चाहे । तर त्यसपछि माहोल बदलियो र क्लबले नाई भन्यो,’ उनले थपे, ‘त्यहाँबाट निस्कन सजिलो छैन । त्यहाँ सम्झौता छ । ठूलो क्लब हो । समर्थकले माया गर्छन । तर नेपोलीमा मैले त्यस्तो भोग्नु परेन ।’

म्याराडोनाले अहिले सम्म जे प्राप्त गरे त्यसका लागि फुटबललाई धन्यवाद दिए । तर उनलाई अहिले पनि एउटा विषय पुरा नभएको बताए । ‘मसँग जे छ त्यो सबै फुटबल दियो । जुन मैले सपनामा पनि सोचेको थिएन ,’ उनले भने, ‘यदि म दुर्व्यसनमा पर्दैन थिएँ भने म अझै राम्रो खेल्न सक्थें । तर त्यो सबै बितिसक्यो । म अहिले ठिक छु । मलाई एउटै कुरामा पछुतो छ मसँग आफ्ना अभिभावक छैनन् ।’

जन्म दिनकै अवसरमा अर्जेन्टिनी फुटबल टोलीका पूर्व प्रशिक्षक समेत रहेका म्याराडोनाले देश चाँडै कोभिड १९ को महामारीबाट मुक्त होस् भन्ने कामना गरे । ‘आशा गरौं अर्जेन्टिना चाडो भन्दा चाडो महामारी मुक्त होस्’, उनले थपे,’म चाहन्छु अर्जेन्टिनामा सबै राम्रो होस् । हामीसँग सुन्दर देश छ । मलाई विश्वास छ अहिलेको अवस्थाबाट हामीलाई बाहिर ल्याउन राष्ट्रपति सफल हुनेछन् ।’

म्याराडोनाले कोभिड १९ ले समाजमा ठूलो असर गरेको चर्चा गरे । ‘जे भईरहेको छ हाम्रा लागि खराब हो । मैले यस्तो कहिल्यै देखेको थिएन । यसले दक्षिण अमेरिकीलाई कठीन अवस्थामा पुर्याएको छ,’ उनले थपे, ‘आशा गरौं यो चाडै अन्य हुनेछ । जनताका लागि यो राम्रो समय होइन । धेरैले आफ्नो रोजगारी गुमाएको छन् । कतिलाई खान पनि समस्या भएको छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज