राजस्थान विरुद्ध कोलकाताको शानदार जितः प्लेअफको संभावना कायमै

राजस्थान रोयल्सलाई ६० रनको ठुलो अन्तरले पराजित गर्दै कोलकाता नाइट राइडर्सले आईपीएलको प्लेअफ सम्भावना जिवितै राखेको छ। हारपछि राजस्थान लिगबाट बाहिरिने तेश्रो टिम बनेको छ। यस अघि चेन्नाई र पन्जाब बाहिर भैसकेका थिए। दुबई अन्तर्राष्ट्रिय स्टेडियममा कोलकाताले दिएको १९२ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १३१ रन मात्र बनाउन सक्यो।

राजस्थानको लागि जोस बटलरले ३५, राहुल तेवतियाले ३१, श्रेयस गोपालले अविजित २३ तथा बेन स्टोक्सले १८ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

अत्यन्त कमजोर सुरुवात गरेको राजस्थानले पहिलो ५ विकेट ३७ रनको योगफलमै गुमाएको थियो। प्याट कमिन्सले रोबिन उथप्पा, बेन स्टोक्स, स्टिभ स्मिथ र रियान परागलाई तथा शिभम माभीले सन्जु स्यामसनलाई पेभेलियन फर्काएका थिए।

छैठौं विकेटको लागि बटलर र तेवतियाले ४३ रनको साझेदारी गर्दै खराब अवस्थाबाट उकासे। ११ औं बटलरलाई वरुण चक्रवर्तीले क्याच आउट गराए। १५ औं ओभरमा तेवतियालाई चक्रवर्तीले क्याच आउट गराएर कोलकातालाई खेलमा पूर्णत हावी गराए। श्रेयस गोपालले एक किनार सम्हालेर ब्याटिंग गरेता पनि जित भन्दा राजस्थान निकै पछि रह्यो।

कोलकाताको बलिंगमा प्याट कमिन्स एक्लैले ४ विकेट लिए जुन क्रममा ४ ओभरमा ३४ रन खर्चिए। आईपीएल करियरमा कमिन्सको यो व्यक्तिगत उत्कृस्ट स्पेल हो। वरुण चक्रवर्ती ( ४-०-२०-२ ) र शिभम माभीले ( ४-१-१५-२ ) समान २ विकेट तथा कमलेश नगरकोटीले ( ४-०-२४-१ ) ले १ विकेट लिए।

कोलकाताको ब्याटिंग 

यस अघि टस हारेर ब्याटिंग गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९१ रन बनाएको थियो।कोलकाताको लागि कप्तान ओएन मोर्गनले सर्वाधिक ६८ रन बनाए जुन क्रममा ३५ बलमा ६ छक्का र ५ चौका प्रहार गरे।राहुल त्रिपाठीले ३४ बलमा ४ चौका र २ छक्का मद्दतले ३९ रन, शुबमन गिलले २४ बलमा ६ चौका मद्दतले ३६ रन तथा आन्द्रे रसेलले ११ बलमा १ चौका र ३ छक्का मद्दतले २५ रन बनाए। प्याट कमिन्सले १५ रन बनाए। नितिश राना, सुनिल नारायण र दिनेश कार्तिकले खाता खोल्न सकेनन्।

दोश्रो विकेटको लागि गिल र त्रिपाठीले ७२ रनको साझेदारी गरेका थिए। नवौं ओभरमा गिल र सुनिल नारायणलाई पेभेलियन फर्काउदै राहुल तेवतियाले राजस्थानलाई खेलमा फर्काए। त्रिपाठी १२ औं ओभरमा श्रेयस गोपालबाट आउट भए जसपछि १३ औं ओभरमा दिनेश कार्तिकलाई तेवतियाले खाता नखोल्दै क्याच आउट गराए।

छैठौं विकेटको लागि मोर्गनले रसेलसंग ४५ रनको साझेदारी गरे। १६ औं ओभरमा रसेललाई कार्तिक त्यागिले क्याच आउट गराए। सातौँ विकेटको लागि मोर्गनले प्याट कमिन्ससंग ४० रनको साझेदारी गरे। कमिन्स अन्तिम ओभरमा त्यागिबाट क्याच आउट भए।

१३ ओभरमा १००/५ को अवस्थामा रहेको कोलकाताले अन्तिम ७ ओभरमा मात्र २ विकेट गुमाएर ९१ रन बनायो।

राजस्थानको बलिंगमा लेग स्पिनर राहुल तेवतियाले सर्वाधिक ३ विकेट ( ४-०-२५-३ ) तथा कार्तिक त्यागिले २ विकेट ( ४-०-३६-२ ) लिए। जोफ्रा आर्चर ( ४-०-१९-१ ) , श्रेयस गोपाल ( ३-०-४४-१ ) ले समान १ विकेट लिए।

अंकतालिका र प्लेअफ अपडेट

१४ खेलमा ६ जित र ८ हार बेहोरेको राजस्थान प्ले-अफ पुग्न असफल लिगको तेश्रो टिम बनेको छ। यस अघि चेन्नाई र पन्जाब बाहिर भैसकेका थिए। मुम्बईले प्लेअफ तथा शिर्ष-२ मा स्थान पक्का गरिसकेको छ। १४ खेलमा ७ जित र ७ हार बेहोर्दै १४ अंक सहित अंकतालिकामा चौथो स्थानमा उक्लेको छ।

अब कोलकाता प्लेअफ पुग्नको लागि हैदरावाद अन्तिम खेलमा मुम्बईसंग पराजित हुनुपर्नेछ। यदी हैदरावादले मुम्बईलाई पराजित गरेको खण्डमा हैदरावादको पनि १४ अंक हुनेछ भने बैंगलोर र दिल्ली बीच पराजित हुने टिमको पनि १४ अंक हुनेछ जसपछि प्ले-अफ पुग्ने टिमको फैसला नेट रन रेटमा हुनेछ। दिल्ली र बैंगलोर बीचको खेलमा पराजित हुने टिम कोलकाता भन्दा नेट रन रेटमा पछि भएको खण्डमा कोलकाता प्लेअफ पुग्नेछ।

लिग अन्तर्गत अब मात्र २ खेल बाँकी रहेका छन्। सोमबार दिल्ली र बैंगलोर तथा मंगलबार लिगको अन्तिम खेलमा हैदरावाद र मुम्बईले प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज