उद्योग विभागले देशका सात ओटै प्रदेशमा मिनी लागनाी सम्मेलनको आयोजना गर्ने भएको छ । लघु एवं घरेलु उद्योग र मझौला उद्योगहरुको प्रवर्धन र वृद्धि विकासको लागि विभागले उक्त मिनी लगानी सम्मेलनको आयोजना गर्न लागेको हो ।
कम्पिटेटिभ मार्केटमा लगानीकर्ताहरुको उत्साह र सहजताका लागि माइक्रो लेभलमा मिनी लगानी सम्मेलनको आयोजना गर्न लागिएको विभागका निर्देशक भक्तराज जोशीले रातोपाटीसँग बताए ।
‘आज युग औद्योगिक युग हो । व्यक्ति, समाज र राष्ट्रकै आर्थिक उत्थानका लागि औद्योगिक विकास एवंम विस्तार अपरिहार्य छ । स्वदेशी लगानीमा होस् या विदेशी लगानी औद्योगिक विकास विना मुलुकको आर्थिक सम्वृद्धि सम्भव छैन ।’
निर्देशक जोशीले भने, ‘यसका लागि विभागले सातै प्रदेशमा मिनी लगानी सम्मेलनको आयोजना गर्दैछ । तर व्यसायी, लगानीकर्ताहरुलाई निर्देशन नभएर हामीले हामीसँग भएको अनुभव बाँड्न चाहेका हौँ,’ निर्देशक जोशीले भने ।
जोशीका अनुसार विभागको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै उक्त कार्यक्रम समाबेस गरेपनि कोभिडका कारण उक्त कार्यक्रम प्रभावित हुन पुगेको थियो । तर वातावरण सहज बन्दै गएसँगै अब छिट्टै विभागले सातै प्रदेशमा उक्त कार्यक्रम लैजादैछ ।
मिनी लगानी सम्मेलनका लागि विभागले प्रत्येक प्रदेशका लागि समान २÷२ लाखका दरले कुल १४ लाख रुपैयाँ कार्यक्रम बजेट छुट्याइसकेको छ ।